

जसपाको बटमलाइन उपराष्ट्रपतिमा माओवादी सकारात्मक छ : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् ।
बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ यादवले पुरानो गठबन्धन ब्युँताउने भने हो आफूहरूको ‘बटमलाइन’ उपराष्ट्रपति भएको बताएका छन् ।
राष्ट्रपति उपराष्ट्रपति निर्वाचनले पछिल्लो राजनैतिक घटनाक्रम र दलहरुमा चासो र चर्चाको बढाएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा मिलेर लडेका दलहरु सरकार गठनसम्म आइपुग्दा प्रतिपक्षमा पुगेको अवस्था छ । साथै प्रमुख प्रतिपक्षमा रहेको दल लगायतले संसदमा प्रधानमन्त्रीलाई विस्वासको मत दिएर राजनितिमा एउटा फरक ल्याएको छ ।
बिहिबार जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । मन्त्रिपरिषद बैठकपछि पुन ३ दलको बैठक बस्ने अध्यक्ष यादवले जानकारी दिए ।
छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताए । अहिलेको सत्ता गठबन्धन टुट्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले अहिले नै टुंगो नभएको बताए । प्रचण्डले भने सार्वजनिक रुपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राखेको र अहिले पनि त्यसमै अडिग रहेको यादवले बताए ।

