कोरोना खोपको अनुदान बढाउन भारतलाई आग्रह


काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना विरुद्धको खोप अनुदान बढाउन भारतसँग आग्रह गरेका छन् । दिल्ली अध्ययन केन्द्रले आयोजना गरेको नेपाल भारत सम्बन्ध विषयक अन्तरक्रियामा उनले अनुदान बढाउन आग्रह गरेका हुन् ।

विश्व रेकर्डको प्रमाणपत्र लिन भारत पुगेका मन्त्री मानन्धरले छिमेकी भारतले कोरोनाविरुद्धको अनुदानमा दश लाख डोज खोप उपलब्ध गराएकोमा नेपाल सरकारका तर्फबाट धन्यवाद दिंदै थप खोप उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

मन्त्री मानन्धरले भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रभावकारीता राम्रो देखिएको भन्दै अनुदान बढाउन आग्रह गरेका हुन् । नेपाल भारतबीच केही स्थानमा सीमा विवाद भएको भन्दै आपसी समझदारी र छलफलबाट सीमा विवाद टुग्याउनुपर्ने बताए ।

कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले महामारी नियन्त्रणका लागि भारत सरकारले नेपाललाई सबैभन्दा बढी प्राथमिकता दिने बताए । साथै उनले सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको थप डोज उपलब्ध गराइने बताए ।

नेता जोलीले नेपालमा भारतप्रतिको दृष्टिकोरणमा केही भ्रम देखिएको बताउँदै शंकाको दृष्टिले नहेर्न आग्रह पनि गरे । विकसित र प्रगतिशिल नेपाल भारतको चाहना भएको बताउँदै नेता जोलीले प्रधानमन्त्री मोदीको चाहना पनि समृद्ध नेपाल भएको बताए ।

लाखौं भारतीय नेपालमा र लाखौं नेपाली भारतमा रोजगारीका लागि आउने जाने चलन रहेको बताउँदै नेता जोलीले दुई देशबीचको सम्बन्धलाई सीमाले नछेक्ने बताए ।

प्रतिक्रिया