
सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, आजबाट कृत्रिम अक्सिजन हटाइँदै
मुम्बई — ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
चिकित्सकहरूका अनुसार आजबाट कृत्रिम अक्सिजन दिन बन्द गरिने पनि जनाइएको छ। नेशनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ। भण्डारीलाई चार दिनपछि आइविसियु ९इन्टेन्सिभ बर्न केयर युनिट०बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएको मुम्बईमा रहेका योगराज कँडेलले जानकारी दिए।
सांसद भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएको कँडेलले बताए।
सांसद भण्डारीको फागुन ४ गतेदेखि भारत मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ। फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएकोमा आमा हरिकलाको निधन भएको थियो ।



कागजपत्र |
