नेपालले जित्यो टस, पहिले फिल्डिङ गर्ने


काठमाडौं — आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने अन्तिम खेलमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।
लगातार चौंथो जितको खोजीमा रहेको नेपालले अघिल्ला तीनै खेलमा जित हात पारेको थियो ।

शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।

विश्वकप लिग टूको विजेता बनिसकेको स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग टू को सुखद अन्त्य गर्न चाहन्छ ।

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।

मंगलबार स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । यस्तै विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।

शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

 

प्रतिक्रिया