


राष्ट्र संघको आग्रहः म्यानमारमा सेनालाई सफल हुन नदिउँ

काठमाडाैं – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदाय समक्ष म्यानमार घटनामा सेनालाई सफल हुन नदिन आग्रह गरेका छन् । निष्पक्ष रुपमा सञ्चालन गरिएको निर्वाचनको परिणाम जबरजस्ती उल्ट्याउने प्रयास गर्नु स्वीकार्य नहुने उनले बताएका छन् ।
सत्तालाई आफ्नो हातमा लिनेहरुलाई सबैले एक भएर देश चलाउने यसरी होइन भनेर बुझाउनुपर्नेमा उनले जोड दिएका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले अहिले यस सम्बन्धि आधिकारिक धारणा सार्वजानिक गर्नेबारे छलफल गरिरहेको छ ।
तर यसमा चीनले भने म्यानमार घटना विरुद्धको कुनै पनि भनाइ अवरोध गर्ने प्रयास गर्ने अनुमान गरिएको छ । बेइजिङले यसअघि पनि यो उनीहरुको आन्तरिक मामिला भएकाले अन्य राष्ट्रले हस्तक्षेप नगरेकै राम्रो हुने धारणा व्यक्त गरेको थियो ।
सोमबारको यस घटनामा देशकी मुख्य नेतृ आङ सान सुकीसहित सबै सांसदहरुलाई सेनाले नियन्त्रणमा लिँदै देशको सम्पूर्ण शक्ति आफ्नो हात पारेको छ । हिजो मात्र सेनाले सुकीबारे थप जानकारी दिँदै उनलाई विभिन्न कानुनी अभियोगमा आगामी १५ फेब्रुअरीसम्मका लागि कैद गरिने बताएको छ । पक्राउ परेदेखि सुकी र राष्ट्रपति विन मिन्टको कुनै धाराणा आएको छैन ।
सेनाको उक्त कदमको शैनिक जनरल मिन अङ ह्लेङले नेतृत्व गरेका छन् । एक वर्षका लागि आपत्कालीन घोषणा गरेको सेनाले अहिले नोभेम्बरको चुनावमा धाँधली भएको बताइरहेको छ । उक्त निर्वाचनमा सुकीको नेस्नल लिग फर डेमोक्रेसी पार्टीले स्पष्ट बहुमत हासिल गरेको थियो । तर, सेनाले लगातार यसमा असन्तुष्टि जनाउँदै आएको थियो । सोमबार सरकारको दोस्रो कार्यकाल सुरु हुने तयारी भइरहँदा अचानक सेनाले सबै सांसाद, मन्त्री र राजनीतिक अभियन्ता समेतलाई पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ ।

विभिन्न रिपोर्टहरुका अनुसार सेनाले यस घटना अन्र्तगत सामाजिक सञ्जाल फेसबुक अवरुद्ध गर्न निर्देशन दिएको थियो । यही कारण बिहीबार त्यहाँका नागरिकहरुले फेसबुक चलाउन नसकेको खबर छ । सेनाको फेसबुक पेजमा भने यसअघि दशौँ हजार ‘लाइक’ आएको देखिएको थियो ।
‘पूर्ण रुपमा अस्वीकार्य’
संयुक्त राष्ट्र संघका सेक्रेटरी जेनेरलले म्यानमारमा संविधान पुनः स्थापित हुनुपर्ने अपील गरेका छन् । सुरक्षा परिषदले यस सम्बन्धी एकीकृत भएर उचित कदम उठाउने अपेक्षा गरेको बताए । उनले भनेका छन्, “हामी अन्तर्राष्ट्रिय समुदायका सबै प्रमुखहरु एक जुट भएर सेनाको कदम असफल पार्न म्यानमारमाथि पर्याप्त दबाब सिर्जना गर्ने सम्भवत सबै प्रयास गर्नेछौँ । किनकी जनताको इच्छा विपरित गइ निष्पक्ष निर्वाचनको परिणाम उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य हुनेछ ।”
पश्चिमी राष्ट्रहरुले यसअघि नै सेनाको कदमको आलोचना गर्दै यसप्रति विरोध जनाइसकेका छन् । तर, चीनले भने यसमा सहकार्य नगर्दा यसअघि सुरक्षा परिषद एकीकृत हुन सकेको थिएन । सुरक्षा परिषदमा भिटोको अधिकार भएका पाँच स्थायी सदस्यमा चीन पनि पर्दछ । यस्तोमा चीनले अन्तर्राष्ट्रिय दबाब या प्रतिबन्ध जारी गर्नुले त्यहाँको अवस्था झन खराब हुन सक्ने चेतावनी दिएको छ । रुससँगै चीनले पनि म्यानमारलाई बाहिरी आलोचनाबाट बचाउ गर्दै आएको छ ।
सुकीको अवस्था अज्ञात
विभिन्न रिपोर्टका अनुसार नेतृ आङ सान सुकीलाई राजधानी नेपीदस्थित उनकै घरमा बन्दी बनाइएको छ । यसमा उनीमाथि आयात निर्यात कानुन, सम्पत्ति दुरुपयोग, अवैध संचार डिभाइसलगायत विभिन्न अभियोग लगाइएको छ । सबै आरोपहरु पुलिस डक्युमेन्टमा उल्लेख गरिएको छ । उता, राष्ट्रपति विन मिन्टलाई ‘राष्ट्रिय प्रकोप व्यवस्थापन कानुन’ अन्र्तगत कोभिड नियम विरुद्ध चुनाव अभियान सञ्चालन गरेको आरोप रहेको छ ।
सोमबारको घटना पश्चात म्यानमारमा अहिलेसम्मकै ठूला प्रदर्शनहरु देखा परेका छैनन् । मंगलबार र बुधबार राति सवारी चालकहरुले प्रमुख शहरमा हर्न बजाइ विरोध जनाएका थिए । त्यस्तै यानगोनका वासिन्दाहरुले भाँडा ठटाएर विरोध जनाएका छन् । हालसम्मको अवस्था शान्त नै रहेको पाइएको छ, जसमा सेना सडकभरि निगारानी गरिरहेका छन् भने रातिको समयमा कफ्र्यु जारी गरिएको छ ।
अस्पतालमा स्वास्थ्यकर्मीहरुले लोकतन्त्रको पक्षमा विभिन्न चिन्हयुक्त पहिरन लगाएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले सुकीलाई रिहा गराउन दबाब दिइरहेको बताएका छन् । त्यस्तै अनलाइनमा पनि नागरिकले सुकीको पार्टीको रातो रङ आफ्नो प्रोफाइलमा राखेर समर्थन जनाइरहेका छन् ।

