एसडीमुनिको नजरमा नयाँ राष्ट्रपतिका लागि नेपालका योग्य चार उम्मेदवार


काठमाडौं – भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको भन्दै चार जनाको नाम अगाडि सारेका छन ।

सोमबार बिहान ट्वीटरमार्फत एसडी मुनीले सर्वसम्मतीबाट राष्ट्रपतिका लागि भन्दै देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिएका छन् ।

उनले लेखेका छन्, ‘‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ राष्ट्रपतिका लागि योग्य भनेर मुनीले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नामसमेत लिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । यही असमझदारी बीच सत्ता गठबन्धन संकटमा परेको छ ।

एमालेसँग असमझदारी बढिरहेको बेला प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग सम्वाद अघि बढाएका छन् ।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ । त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

 

 

प्रतिक्रिया