सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ (फोटोफिचर)


काठमाडौं – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाएको छ ।

नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।

सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिका रुपमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरिन् ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति दिएको थियो ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए ।

 

 

 

प्रतिक्रिया