गठबन्धन भत्काउन विदेशीहरुको चलखेल भइरहेको छ : योगेश भट्टराई


सुर्खेत – नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन भत्काउन विदेशी शक्तिले चलखेल गरिरहेको बताएका छन् ।
शनिबार प्रेस चौतारी कर्णाली प्रदेश समितिले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।

नेता भट्टराईले भने, ‘यो गठबन्धन बनाउन कुनै विदेशीको भूमिका छैन । नेपाली माटोबाटै उत्पादन भएको हो । तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौँ ।’ उनले सत्ता गठबन्धन भत्काउन लाग्नेहरूको नै गठबन्धन बन्दै गरेको बताए ।

‘अहिले गठबन्धन भत्काउन लाग्नेहरू बन्ने बेलामा सुतिरहेका थिए । उनीहरूलाई शङ्कै थिएन ओली र प्रचण्ड मिल्लान् भनेर’ उनले भने, ‘हिजोसम्म झगडा गरेका थिए भन्ने लागेको थियो । त्यस बेलामा पत्तै नपाउनेहरुले अहिले थाहा पाएपछि हामी असफल भयौँ भनेर भत्काउन लागिरहेका छन् ।’

उनले प्रधानमन्त्री प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्तावसहित गठबन्धन निर्माण भएको स्मरण गरे । राष्ट्रपति एमालेले पाउने प्रस्ताव पनि प्रचण्डकै भएकाले पुस १० को सहमतिमा कुनै फेरबदल नहुने बताए । ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ’ उनले भने, ‘जुन गठबन्धन भित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ ।’

प्रतिक्रिया