

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा र सभामुख घिमिरे

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारीका स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भण्डारीका आमा हरिकलाको भने उपचारको क्रममा बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् ।
आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ ।
यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।
शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए ।

