

‘राजनीतिक स्थायित्वको निम्ति संसदको विघटन गरिएको हो’

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले राजनीतिक स्थायित्वको निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षधर अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न जनतामा जाने निर्णय गरेको पनि उनको भनाइ छ । जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिने जिकिर पनि उनले गरे ।
बिघटित संसदले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण संसदको विघटन गर्नुपर्ने आवश्यकता परेको उनले बताए । विघटित संसदको पुनःस्थापनाले समस्याको हल नगर्ने उनको भनाइ छ । पुरानो संसदले राजनीतिक अस्थिरता पैदा गर्ने भएकाले नयाँ संसदको गठनले मात्रै स्थायित्व कायम गर्नसक्ने उनले बताए ।
संविधानले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने विशेषाधिकार दिएको भन्दै संसद विघटनको कदम संवैधानिक रहेको निष्कर्ष सरकारले निकालेको उनले बताए ।
निर्वाचन आयोगले अध्यक्ष र महासचिव रहेको पार्टी नै वैधानिक पार्टी भनिसकेको गृहमन्त्री थापाले बताए । सत्ता पक्ष र प्रतिपक्ष सबै चुनावमा होमिएको भन्दै उनले सर्वोच्च अदालतले पनि निर्वाचनकै पक्षमा फैसला गर्नेमा बिश्वस्त रहेको बताए ।

