
सगरमाथा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल
सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ। चिसाका कारण सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढेको स्थानीयले बताएका छन्।
जाडो छल्न काठमाडौं लगायत क्षेत्रमा गएका स्थानीयवासी धमाधम फर्किन थालेका छन्। खुम्बुमा अहिले विदेशी पर्यटकसमेत फाट्टफुट्ट देखिन थालेका छन्। खुम्बु भित्रिनेको संख्या बढेसँगै केही दिनयता तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तथा अवतरणको संख्यामा वृद्धि भएको छ।
चिसो क्रमशस् घट्दै गएसँगै पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप बढेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका कर्मचारी सागर कँडेलले बताए।
उनका अनुसार लुक्लामा सोमबार ६ वटा उडान भएको छ। विमानमार्फत् दैनिक १०० जनाको हाराहारीमा यात्रु भित्रिने गरेका छन्। लुक्लाबाट फर्किने यात्रु शुन्य भएपनि भित्रिने यात्रुको संख्या बढिरहेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ।
सोमबार तारा एयरलाइन्सको ३ र सीता एयरको ३ वटा उडानमार्फत् करिब ९० यात्रु खुम्बु भित्रिएको प्राधिकरणले जनाएको छ। खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मंसिर र चैत, वैशाख, जेठलाई मुख्य पर्यटकीय सिजन मानिन्छ।



कागजपत्र |
