
सरकार, यातायात मजदुर र व्यवसायीको वार्ता सिंहदरबारमा सुरु
काठमाडौं – आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता सुरु भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा वार्ता जारी रहेको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए।
विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। बिहान काठमाडौंमा सार्वजनिक यातायात चलेका छैनन्। यातायात नचल्दा यात्रुहरु भने मर्कामा परेका छन्। केही रुटमा छिटफुट रुपमा यातायात चले पनि मुख्य रुटमा भने सार्वजनिक यातायातका साधन चलेका छैनन्।
सोमबार आन्दोलनरत यातायात मजदुरले बालाजु बाइपास क्षेत्रमा प्रहरीको भ्यान तथा अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए। सोमबार अपराह्न उक्त क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो।
उक्त घटनाप्रति उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। आन्दोलनको सन्दर्भ र त्यसको समाधानबारे छलफल गरी उचित निष्कर्ष निकाल्न मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई बिहान मन्त्रालयमा बोलाएका हुन् ।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्रालयले जनाएको छ।
ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घ आन्दोलित भएको हो।
पहिलो पटककै गल्तीमा १५ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने नयाँ नियमलगायतको विरोधमा यातायात मजदुर तथा व्यवसायीहरु आन्दोलित भएका हुन्।



कागजपत्र |
