बिहानैदेखि उपत्यकामा सार्वजनिक सवारी साधन चलेनन्


काठमाडौं – उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्।

नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेसँगै आज काठमाडौं उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी नचलेका हुन्।

उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छ। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।

सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्। निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको भन्दै यातायात मजदुर हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए।

प्रर्दशनका क्रममा बालाजु प्रहरी चाैकीका २ सवारीमा आजगनी भएका थिए ।

यसैबीच भौतिक पूर्वाधार मन्त्रालयले यातायात मजदुरहरुसँग वार्ताका लागि आह्वान गरेको छ । अहिले बिहानदेखि बस्ने भनिएको वार्ता केही बेरमा सुरु हुने पनि जनाइएको छ ।

प्रतिक्रिया