आईसीसी विश्व क्रिकेट लिग टुः नेपाल र नामिबियाबीच आज खेल हुँदै, यस्तो छ सन्दीपसहितको नेपाली टिम


काठमाडौं — नेपालले  ‘आईसीसी विश्व क्रिकेट लिग टु’  त्रिकोणात्मक सिरिजको पहिलो खेल आज खेल्दैछ ।

आजदेखि काठमाडौंमा नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित ‘आईसीसी विश्व क्रिकेट लिग टु’  त्रिकोणात्मक सिरिज सुरू हुँदैछ। पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरू हुनेछ।

रोहित पौडेलको कप्तानीमा मैदान उत्रने नेपाल लिग टुमा नामिबियालाई पहिलो पटक पराजित गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले लिग टुका कुल ३६ मध्ये २४ खेल खेलिसकेको छ। जसमा १४ जित, १८ मा हार र एकमा बराबरीको नतिजाका साथ १८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ।

नेपालसामू घरेलु मैदान र समर्थकको फाइदा रहनेछ । यही खेलमार्फत मोन्टी देसाइले नेपालको प्रशिक्षकका रुपमा डेब्यु गर्दैछन्।

प्रशिक्षक देशाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए।

सिरिज नेपालका लागि निकै महत्वपूर्ण र कठिन दुवै भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षकको भनाइ छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुरू हुनुपूर्व सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घरेलु टिम नेपालका कप्तान रोहितले नयाँ प्रशिक्षकको आगमनले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताए।

एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईले नेपालका उमेर समूहका टोलीसँग काम गरिसकेकोले अहिलेको टोलीमा सहजै घुलमिल भएको कप्तान रोहितले बताए। घरेलु मैदानमा हुने सिरिज निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए।

नामिबियाका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए। उनले आफ्नो टोली शीर्ष चारमा अटाइसकेको र दोस्रो स्थानमा अटाउने लक्ष्यमा नामिबिया रहेको रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने बताए।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फागुन ९ गते सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुल्शन झा, भीम सार्की, सूर्य तामाङ।

 

प्रतिक्रिया