विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि


कास्की – पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेम्जाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ। दुर्घटनामा ज्यान गुमाएका हेम्जा हनुमानचोकनिवासी राजन सापकोटा र उनकी श्रीमती अनिसा बानियाँ सापकोटाको हेम्जा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो।

अनिसाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो। राजनको शव माघ ८ गते काठमाडौंमा शवपरीक्षणबाट पहिचान भए पनि अनिसाको पहिचान गर्न डिएनए गरिएको थियो। डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौंबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए।

डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए। विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए। उनलाई लिन श्रीमती अनिसा काठमाडौं गएकी थिइन्। पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो। यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए।

यसैगरी, एक महिनाअघि पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवंगत पोखरा–२१, दोबिल्लानिवासी २४ वर्षीया सबिना रायमाझीको अन्त्येष्टि गरिएको छ। पोखरा-२१ स्थित सेती नदीको दोबिल्ला घाटमा आज बिहान सबिनाको अन्त्येष्टि गरिएको उनका परिवारका सदस्यले जनाएका छन्।

जहाज दुर्घटनामा परेकी सबिनाको शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौं लगिएको थियो। डिएनएको रिपोर्ट माघ २९ गते आइतबार मात्रै प्राप्त भएपछि सोमबार सबिनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन् ।

प्रतिक्रिया