पटक-पटक म्याद थप गर्दा समेत काम नगर्ने ३ दर्जन ठेक्का सम्झौता ताेडियाे


काठमाडौं – सडक विभागले पटकरपटक म्याद थप गर्दा पनि सम्झैता गरे अनुसार काम नगर्ने तीन दर्जन ठेक्का सम्झौता तोडेको छ । म्याद थप गरे पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी उक्त ठेक्का सम्झौता तोडिएको विभागले जनाएको छ ।

सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको विभागले जनाएको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा १० र गत वर्षको जेठमा ३ वटा ठेक्का तोडेको जनाएको छ । सबैभन्दा बढी तोडिएका ठेक्का पुलसँग सम्बन्धित छन् । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘लामो समयदेखि काम हुन नसकेका र रुग्ण भई काममा प्रगति नदेखिएका ठेक्काहरु तोडिएको हो,’ उनले भने । उनका अनुसार बाँकी काम सम्पन्न गराउनका लागि पनि सम्बन्धित ठेकेदार कम्पनीबाटै रकम असुल गरिनेछ । ‘सरकारले कानुन बमोजिम बाँकी कामको रकम असुल गर्नेबारेमा जानकारी गराउने हो, सूचना दिँदा पनि ठेकेदारले लागत दाखिला गरेर भौचर पेश नगरे सम्बन्धित कार्यालयमा लेखेर पठाइने छ,’ उनले भने, ‘जुन रकम ठेकेदार कम्पनीको नाममा सरकारी लगत बस्नेछ ।’

प्रतिक्रिया