

गुम्बाको रकम भ्रष्टाचार गर्न स्वकिय सचिवलाई कीर्ते गरी कोषाध्यक्ष !
स्थानीय सरकार कतै उत्कृष्ट, कतै निकृष्टः काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलको प्रत्यक्ष संलग्नतामा निकालियो गुम्बाको ५ लाख

काभ्रे – पछिल्लो समय स्थानीय तहलाई सरकारले पूर्ण अधिकार सुम्पिएको छ । विकास निर्माणदेखि प्रशासनिक कार्यहरुमा पनि स्थानीय तहले नै जिम्मेवारी र अधिकार पाउने गरेका छन् । कतिपय स्थानीय तहका प्रमुखहरुले पाएको अधिकारलाई सदूपयोग गर्दै आफूलाई अब्बल सावित गरेका छन् भने कतिपय विकास निर्माण र सामाजिक कार्यका लागि विनियोजित बजेटलाई विभिन्न गैरकानुनी काम गरी अनियमितता र भ्रष्टाचार गरिरहेका छन् ।
मुलुककै सबैभन्दा उत्कृष्ट स्थानीय तह बन्दै पटक–पटक पुरस्कृत भएको काभ्रेको पाँचखाल नगरपालिकासँगै जोडिएको भुम्लु गाउँपालिकामा भने अहिले अनियमितता बढ्दो क्रममा देखिएको छ । पाँचखालसँगै जोडिएको भुम्लु गाउँपालिकामा धार्मिकस्थलको निर्माणका क्रममा पनि अनियमितता गरी निकृष्टताको उदाहरण देखिएको छ ।
भुम्लु गाउँपालिकामा अध्यक्ष कै मिलेमतोमा गुम्बा निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै निर्माण समितिका पदाधिकारीहरु नै कारबाहीको माग गरिरहेका छन् । काभ्रेको भुम्लु गाउँपालिकाका वडा नं. ५ मुलाबारीमा रहेको श्री घोङग ताम्सालिङ गुम्बा निर्माणका क्रममा आर्थिक रकम हिनामिना गरेको निर्माण समितिकै पदाधिकारीहरुले जनाएका छन् ।
गाउँपालिका अध्यक्ष प्रेम भुजेलको प्रत्यक्ष मिलेमतोमा निर्माण समिति नै परिवर्तन गरी रकम हिनामिना गरिएको जनाइएको छ । उक्त गुम्बा निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा नेतृत्वमा रहेको समितिमा योजनाबद्ध रुपमा नै कोषाध्यक्ष मात्रै परिवर्तन गरी आर्थिक अनियमितताका लागि अध्यक्ष भुजेलको समेत मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।
निर्माण सुरु गर्दाको समयमा लामाको नेतृत्वमा बनाइएको निर्माण समितिलाई निर्माण सम्पन्न भईसकेपछि अन्तिम समयमा आएर भुजेलले नै कोषाध्यक्ष परिवर्तन गराई रकम हिनामिना गरेको जनाइएको छ । त्यसका लागि अध्यक्ष भुजेलले आफ्ना स्वकिय सचिव तुलसीमान तामाङलाई कोषाध्यक्ष बनाउनुमा थप शंका उब्जाएको छ । निर्माण समितिका पदाधिकारी र सदस्यहरु सबैको हस्ताक्षर कीर्ते गरी यसअघिकै कोषाध्यक्ष अनिता गुरुङलाई उपाध्यक्ष बनाएर कोषाध्यक्षमा अध्यक्ष भुजेलको स्वकिय सचिव तामाङलाई मनोनित गरिएको पाइएको छ ।
आफ्नै स्वकिय सचिवलाई कोषाध्यक्षमा मनोनित गरेपछि अध्यक्ष भुजेलले गुम्बा निर्माण समितिको बैंक खाता सञ्चालन र बन्द गर्नका लागि सिफारिस गरेको देखिएको छ ।
अध्यक्ष भुजेलसहितको मिलेमतोमा गुम्बा निर्माण समिति विघटन गरी रातारात नयाँ समिति बनाई पाँच लाख रुपैयाँ निकाशा स्थानीयले दावी गरेका छन् । डुक्मा दोर्जे लामाको अध्यक्षतामा गठित पुरानो समितिको कोषाध्यक्ष अनिता गुरुङ र अमृत कुमार लामा सचिव छन् । त्यस्तै स्थानीय मठराम तामाङ, शर्मिला तामाङ र मनमाया तामाङ समितिका सदस्य छन् । तर, उनीहरु कसैलाई पनि थाहै नदिई अध्यक्ष भुजेलका सल्लाहकार तुलसीमानलाई नयाँ समितिको कोषाध्यक्ष बनाएर रकम निकालिएको स्थानीयको भनाई छ ।
होदसल धो ङाग क्षोइलिङ ताम्सालिङ गुम्बाको नाममा राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा तीनजनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालनमा थियो। उक्त खाता नं. १०४०१०००१६०६८००१० मा समितिका अध्यक्ष डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा र कोषाध्यक्षमा अनिता गुरुङ गरी ३ जनाको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालनमा थियो।
तर पालिका अध्यक्ष भुजेलको निर्देशनमा अध्यक्ष डुक्मा दोर्जे लामाले समितिका पदाधिकारी र सदस्यहरूलाई जानकारी नै नदिई समिति पुनर्गठन गरी नयाँ समिति बनाए। जुन समितिमा सचिव अमृतकुमार लामालाई हटाएर कोषाध्यक्ष गुरुङलाई सचिव, कोषाध्यक्षमा गाउँपालिकाका अध्यक्ष भुजेलका स्वकीय सचिव तुल्सीमान तामाङलाई बनाइयो। जुन कुरा कोषाध्यक्षबाट हटाइएर सचिव बनेकी गुरुङलाई समेत थाहा नदिई अन्य सदस्यहरू यथावत् राखियो।
अध्यक्ष सचिव र कोषाध्यक्षसमेत गरी ३ जनाको हस्ताक्षरबाट खाता सञ्चालन भईरहेकोमा यसपछि गाउँपालिकाले मिति २०७९ साउन १९ गते नियोजित रुपमा गठन गरिएको समितिबाट २ जनाकोमात्र हस्ताक्षर चल्ने गरी खाता सञ्चालनका लागि सिफारिस दिनुले पनि थप शंका उब्जाएको छ ।
‘गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिमा कोषाध्यक्ष थिएँ। कहिले बैठक बसी समिति पुनर्निर्माण भएर मलाई सचिव राखेछन् थाहा नै भएन,’ अनिता गुरुङले भनिन्, ‘तीनजनाको हस्ताक्षर चल्ने खाता थियो, अहिले दुईजनाको मात्र चल्ने खाता बनाएर रकम निकाली हिनामिना गरेको छ। मलाई थाहा नै छैन।’
अमृतकुमार लामाले पनि आफूलाई सचिवबाट कहिले किन हटाइयो थाहा नभएको बताउँदै अनियमितता गर्नकै लागि आफूलाई हटाएरको आरोप लगाएका छन्। गाउँपालिकाका अध्यक्ष भुजेलसहितको मिलेमतोमा हिनामिना भएको उनको भनाइ छ।
उनीसहित सातजना समितिको र तीनजना आन्तरिक अनुगमन तथा सुपरिवेक्षण समितिको हस्ताक्षर किर्ते गरेको उनको आरोप छ। ‘किर्तेसहित रकम हिनामिना गरेको छ। हामी कानुनी उपचारमा जाने कि भन्ने विषयमा छलफलमा छौँ,’ लामाले भने।
‘हामीलाई केही भन्दै नभनी हाम्रो कीर्ते हस्ताक्षर गरेर पैसा झिकिसके छ्न् । पालिका अध्यक्षले कुन आधारमा सिफारिस गर्दिए अनि कोषाध्यक्ष, सचिव बिना बैंकले कसरी पैसा दियो, अचम्म लागेको छु, उनले भनिन् । ‘म झूठ बोल्दिन, पहिलो नम्बरमा समितिको अध्यक्ष दोर्जेको गल्ती छ । दोस्रोमा पालिका अध्यक्षका सल्लाहकार तुलसिमानको गल्ती छ र अध्यक्ष भुजेल पनि यसमा दोषी छन् आक्रोशित हुँदै उनले भनिन् ।
यता डुक्मा दोर्जे लामाले भने सामान्य खटपट भएको प्रतिक्रिया दिए। किर्ते हस्ताक्षर र रकम हिनामिना नभएको उनको दाबी छ। त्यस्तै नयाँ कोषाध्यक्ष एवं गाउँपालिका अध्यक्षका सल्लाहकार तुलसीमान तामाङले यस विषयमा अध्यक्षसँगको कुराकानी नभएसम्म बोल्न नसक्ने बताए । त्यस्तै यता पालिकाका अध्यक्ष भुजेलले यो विषयमा थाहा नभएको प्रतिक्रिया दिए।

