

राष्ट्रपति सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् । उक्त घटनामा दोषीलाई कारबाहीका माग गर्दै सरकारबाट तत्काल सुनुवाइ हुनु पर्ने समेत उनको जोड छ ।
महामन्त्री थापाले शुक्रबार राष्ट्रपति विद्या देवि भण्डारीको सवरीको क्रममा ट्रमा सेन्टरका डा. जनिथ सिंहमाथी भएको कुटपिटको घटनार्ला लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बिशिष्टको सवारीका लागि सुझाव दिएका हुन् ।
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको उल्लेख गर्दै थापाले भनेका छन, ‘यस्तो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ।’
थापाले बिशिष्ट ब्यक्तिको सवारीका लागि लागि दुईवटा काम गर्नु पर्ने सुझाव दिएका छन । ‘१० विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ,’ उनको पहिलो सुझाव छ ।
दोस्रो सुझावमा भनेका छन, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।’ उनले आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिने, पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने जनाएका छन् ।
‘राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनको आग्रह छ ।

