

सांसदहरुलाई राष्ट्रपति भण्डारीको निम्तो आज

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट शनिबार सबै सांसदलाई शीतल निवासमा बोलाएकी छिन्।
दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवासमा निम्तो दिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति सांसदहरूलाई बोलाइएको उनले बताए।
सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन्।
यसलाई राष्ट्रपति भण्डारीले बोलाएको बिदाई भेटघाट पनि हुनसक्ने अनुमान गरिएको छ ।
भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुनेछ।

