

राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई जसरी पनि हराउँछौंः गगन थापा

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गरेका छन्। महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकिरसमेत गरे।
बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढ्ने बताए।
महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दुर्घटना हुने डर कांग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए।
उनले भने, ‘राष्ट्रपतिका आँखा लाउलास् भन्नु हुन्छ साथीहरु। ठिकै हो। त्यो पनि कुरा। हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं। र, हराएरै छाडछौं। कोसिस गर्छौं। लाग्छौं लाग्छौं। यो स्वभाविक हो नि। अस्वभाविक हो र। आँखा लाउलास भन्नु हुन्छ। आँखै लाउँछौं। भोटै माग्छौं। फकाउँछौँ।’
विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाइ थियो।

