प्रधानसेनापतिका लागि बाटो खोल्न शाहीलाई कारबाही गराउन नारायणकाजीको शरणमा उपरथी श्रेष्ठ


काठमाडौं – आर्थिक अनिमितता गरेको आरोपमा उपरथी प्रेम शाही गत पुस १९ गतेदेखि सैनिक हिरासतमा रहेका छन् । करिब महिनाभन्दा धेरै समयदेखि जंगी अड्डाभन्दा बाहिर नजाने गरी नियन्त्रणमा लिइएका उपरथी शाहीलाई कारबाही गराउनका लागि अहिले सेनाभित्रकै उच्च अधिकारीहरु लागेको खुल्न आएको छ ।

आर्थिक अनियमितताको आरोपमा नियन्त्रणमा लिइएका शाहीको छानबिनका लागि जंगी अड्डाले एक समिति गठन गरेको थियो । उक्त छानबिन समितिले प्रतिवेदन प्रधानसेनापछि प्रभुराम शर्मालाई बुझाइसकेको सैनिक स्रोतले जनाएको छ ।

यसैबीच प्रधानसेनापति शर्माले हालै एक कार्यक्रममा सेनाभित्रको कुनै पनि अधिकारी वा कर्मचारीलाई आरोपकै भरमा कारबाही नगरिने र छानबिन पछि दोषी ठहरिएमा मात्र कारबाही गरिने बताएकोले शाही निर्दोष रहेको हुनसक्ने आंकलन सेनाभित्र गरिएको छ ।

शाही निर्दोष रहेको हुनसक्ने सुइँको पाएपछि अर्का उपरथी बाबुराम श्रेष्ठले शाहीमाथि कारबाही हुनुपर्ने जनाउँदै उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग लबिङ गर्दै छन् । नाताले दाजु पर्ने श्रेष्ठसँग उपरथी श्रेष्ठले अहिले शाहीलाई कारबाही गराउन सकेमा आफूलाई प्रधानसेनापतिका लागि बाटो खुल्ने समेत बताउँदै उनी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि लबिङ गर्न लागि रहेका छन् ।

माओवादी सशस्त्र विद्रोहका बेला माओवादीलाई सहयोग गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उपरथी श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डसँग भेटाएको पनि स्रोतले दाबी गरेको छ ।

श्रेष्ठ पूर्णचन्द्र थापा प्रधानसेनापति रहँदाको बखतमा आर्थिक अनियमितता गरेको र गोरखाका एक युवकलाई सैनिक भर्नामा अनियमितता गरेको भन्दै नसियत पाएका सैनिक अधिकृत हुन् । उनलाई तत्कालीन प्रधानसेनापति थापाले छानबिनपछि दोषी पाइएकोले बढुवा रोक्का गरेका थिए ।

तर अहिले भने श्रेष्ठ जसरी पनि उपरथी शाहीलाई कारबाहीको दायरामा ल्याएर आफू तीन तारे जर्नेलमा बढुवा हुने ध्याउन्नमा लागेका हुन् ।

उमेरसम्बन्धी विवादमा परेका शाहीलाई सर्वोच्च अदालतले एक वर्ष पदावधि कायम रहेको भन्दै फैसला गरेपछि गत पुस २० गतेपछि अवकाशमा जान लागेका शाहीको पदावधि १ वर्ष थपिए पनि आर्थिक अनियमितताको आरोपमा उनलाई जंगी अड्डाले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया