

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निश्चित !

काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल सर्वसम्मत हुने देखिएको छ।
नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने सम्भावना बढेको हो।
उपाध्यक्षका लागि आज मनोनयन पत्र दर्ता गर्ने समायावधि तोकिएको छ भने यदि एक भन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गरेको खण्डमा भोली मतदान हुने कार्यतालिका रहेको छ ।
नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले उपाध्यक्ष माओवादीलाई दिने विषयमा सहमति भएको बताए।
अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्।
उनी २०६३मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन्।उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन्।

