

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ ।
खोर्साने-केराबारी सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३२ प ८४६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार दिउँसो दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक केराबारी गाउँपालिका-६ घर भएका १६ वर्षीय जोशन लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा साँझ ५:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो । मृतक चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएको पाइएको छ । प्रारम्भिक अनुसन्धानबाट उनी लागूऔषधका सेवनकर्ता भएको खुलेको छ ।

