

सांसद चौधरीलाई आज अदालत पेश गरिँदै

धनगढी — बाँकेबाट पक्राउ गरेर धनगढी ल्याइएका नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई आज अदालतमा पेस गरिने भएको छ।
बिहीबा चौधरीलाई बाँकेबाट काठमाडौं हुँदै धनगढी पुगाइएकोमा आज (शुक्रवार) १० बजेपछि जिल्ला अदालत कैलालीमा पेस गरिने भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई आजै अदालत पेस गरिने जानकारी दिए।
चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। चौधरीलाई करीब १३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनको निम्ति चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई बिहीबार श्री एयरलाइन्सको नियमित उडान नम्बर एसएचए ४३९ मा काठमाडौं लगिएको थियो। त्यसपछि प्रहरी निरीक्षक चक्रडमर पालको नेतृत्वमा दुई जना सुरक्षाकर्मीको निगरानीमा उनलाई काठमाडौंबाट पनि पुनः बेलुका सोही एयरलाइन्सको उडान नम्बर एसएचए २२७ बाट धनगढी ल्याइएको थियो। अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई बाँकेको बैजनाथ गाउँपालिका–२, गावरबाट पक्राउ गरेको थियो।

