

टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी आज पनि स्थगित

काठमाडौं — कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दामा आजका लागि पेसी तोकिएकोमा स्थगित भएको छ । ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आज तोकिएको पेसी यसअघि पटकपटक स्थगित हुँदै आएको थियो ।
उक्त मुद्दाको सुनुवाई आज न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र डा. आनन्द मोहन भट्टराईको इजलासमा तोकिएको थियो ।
सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।
०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
थरुहटको आन्दोनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको हत्या भएको थियो ।

