प्रेमप्रसादको आत्मदाह प्रकरण : प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान


काठमाडौं – नयाँ बनानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

आचार्यले आत्मादाह गर्नु अगाडि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ ।

सोहीक्रममा आज (सोमबार) प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरीले जनाएको छ ।

प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । उनले भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले त्यस विषयमा सोधपुछ भइरहेको प्रहरी स्रोतले बतायो ।

यद्यपी भाटभटेनी सुपरमार्केटले इलामा युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनी सूर्योदय एग्रो ईण्डष्ट्रिज एण्ड फार्म हाउसलाई दिनुपर्ने रकम समयमा भुक्तानी गरेको दाबी गर्दै बिहिबार विज्ञप्ती जारी गरिसकेको छ । सुपरमार्केट सञ्चालकले कहिले पनि आचार्यलाई दुःख दिने नियत नभएको स्पष्ट पारेको हो । साथै भाटभटेनीले आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा नगरेको दावी पनि गरेको छ ।

अघिल्लो साता मंगलबार दिउँसो आफैंलाई आगो लगाएका प्रेमप्रसादको भोलिपल्ट बिहान ६ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया