

उच्चस्तरीय भेटवार्ता गर्दै अमेरिकी उपमन्त्री नुल्याण्ड

काठमाडौं – नेपाल भ्रमणमा आएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज (सोमबार) उच्चस्तरीय भेटवार्ता गर्दैछिन् ।
हिजो वासिङ्टन डीसीबाट सिधै नेपाल आएकी उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेण्डामा छलफल गर्न लागेकी हुन् । उनले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। काठमाडौंमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्याण्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नेछिन् ।
नुल्याण्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको उल्लेख गरेको छ । नुल्याण्ड एक अनुभवी अमेरिकाकी कुटनीतिज्ञ हुन् । उनले ३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसकेकी छन् ।
उनी तीन वर्षदेखि अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपमन्त्री छिन् । उनले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र युरेपियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेकी थिइन् ।
यस्तै, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्ल्यू बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेशनको लागि अमेरिकी राजदूतको रुपमा पनि उनले काम गरेकी थिइन्।

