

अर्को आत्मदाहको प्रयास, बचाउन जाँदा घरबेटीसमेत जलिन्

पोखरा – पोखरामा एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना भएको छ ।
आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सुवास तिमिल्सिनाले जानकारी गराए ।
‘दुवैको शरीरमा आगो लागिरहेको बेला छिमेकीहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले बताए । कृष्णबहादुर संगीताको घरमा भाडामा बस्दै आएका थिए ।

