कहिले होला त चितवन–२ मा उपनिर्वाचन ?

सांसद पद खारेजीको पत्र आएपछि उपनिर्वाचन गरिनेछः आयोग


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चको फैसलापछि खाली भएको चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । तर उक्त उपनिर्वाचन कहिले हुने भन्ने विषयमा आयोगको धारणा सार्वजनिक नभइसके पनि सांसद पद खारेजीको पत्र पाएपछि मात्र उपनिर्वाचनको प्रक्रिया थाल्ने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जनाएका छन् ।

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको हो ।

निर्वाचन आयोग स्रोतका अनुसार उपनिर्वाचनका लागि कम्तीमा ३ महिना तयारीका लागि लाग्ने पनि जनाइएको छ ।

प्रतिनिधिसभामा कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गराउने प्रावधान रहेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा लिएको अमेरिकी नागरिकता २०७५ सालमा त्याग गरेका थिए । अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकताको पुनः प्राप्ति प्रक्रिया लामिछानले नअपनाएको भन्दै अदालतको उत्पे्रषणको आदेशले लामिछानेको उम्मेदवार कायम गर्ने, निर्वाचित भएको घोषणा गर्ने, प्रमाण दिने सबै कार्य बदर भएको छ ।

नेपाली नागरिकता ऐन २०६३ को दफा १० मा आफूखुशी विदेशी नागरिकता लिएमा वा एकैसाथ विदेशी र नेपाली नागरिक हुने स्थितिमा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने स्पष्ट प्रावधान रहेको छ ।

 

प्रतिक्रिया