कांग्रेस नेता बस्नेतले लिए आचार्यको छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको जिम्मा


काठमाडौं — कांग्रेस नेता मोहनबहादुर बस्नेतले स्वर्गीय प्रेमप्रसाद आचार्यको छोराछोरीको पठनपाठनको जिम्मेवारी लिएका छन् ।

सांसद बस्नेतले स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताएका हुन् ।

बस्नेतले भेटमा आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए ।

‘स्व आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ’, बस्नेतले भने ।

आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधवार बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया