सर्भरको समस्या समाधान भएसँगै अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भरमा आएको समस्या समाधान भएसँगै अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । दिउँसो देखि सभर्भर डाउन हुँदा अवरुद्ध भएको उडान झण्डै ३ घण्टापछि सञ्चालनमा आएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’

अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए ।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ ।

प्रतिक्रिया