

धनकुटाका यातायात कार्यालय प्रमुखलाई कालोमोसो

विराटनगर – यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई नेकपा (बहुमत) का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको हो ।
नेकपा (बहुमत) धनकुटा संयोजक मोहन घलेले विज्ञप्तिमार्फत कालोमोसो छ्यापिएको बताएका छन् । उनले कार्यालय प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै पार्टीलाई प्राप्त भएको गुनासोका आधारमा छानबिन गर्दा प्रमाणित भएकोले चेतावनीस्वरुप कालोमोसो दलेको बताएका छन् ।
धनकुटामा करिब दुई बर्षअघि मात्रै यातायात व्यवस्था कार्यालय स्थापना गरिएको थियो । विराटनगर घर भएका लुईंटेल एक बर्षयता त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका थिए ।
कार्यालय प्रमुख लुईंटेलमाथि कालोमासो दलेको घटनामा संलग्न रहेका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

