

नेपालले एसियन च्याम्पियनसिप भलिबल खेल्ने

काठमाडौं – राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिने पक्का भएको छ । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो ।
च्याम्पियनसिप चीनको जियाङमेनमा आगामी भदौ १३ देखि २० गतेसम्म हुने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागिता जनाउनेछन् । सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो ।
गत वर्ष नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको महिला टिमले ऐतिहासिक रजतपदक जितेको थियो । सागअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्णपदक जितेको थियो ।

