

जेलबाटै यसरी बन्दैछ विप्लवसँग वार्ताको खाका, यी हुन् मध्यस्तकर्ता

काठमाडौं– सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ताको वातावरण बनाउन थालेको छ। शान्तिपूर्ण राजनीतिमा ल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहकार्य गराउने तयारी भएको उच्च स्रोतले जनाएको छ।
त्यसका लागि अहिले नख्खु जेलमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओलीसँग वार्ताको खाका बनाउन थालिएको छ। सरकारका तर्फबाट यसको जिम्मा खानेपानी मन्त्री मणि थापाले पाएका छन्।
थापाले नख्खु जेलमा पुगी ओलीसँग वार्ता गरेका छन्। शान्तिपूर्ण राजनीतिमा ल्याउँदै कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था संविधानमा गर्नेगरी सरकारले वार्ता गर्ने र सहमतिको एउटा खाका बनाउन लागेको उच्च स्रोतले जनाएको छ।
पृथकतावादी आन्दोलन गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि सरकारले पक्राउ गरी जेलमा राखेको थियो। जेलभित्रै उनलाई शान्तिपूर्ण राजनीतिमा आउनेगरी सहमतिको खाका तयार भएको थियो। सोहीअनुसार राउतले सरकारसँग सम्झौता गरी तराई मधेसमा शान्तिपूर्ण राजनीति सुरु गरेका छन्।
‘जसरी सीके राउतसँग वर्ता गरेर सहमति गर्न सरकार सफल भयो, प्रधानमन्त्रीले विप्लव समूहलाई पनि त्यसरी नै सहमतिमा ल्याउने पहलकदमी थाल्नुभएको छ’, उच्च सरकारी स्रोतले भन्यो,‘यहि शिलशिलामा मन्त्री थापा जेलमा रहेका हेमन्तप्रकाश ओलीलाई भेट्न पुगेका हुन्।’

