

ठोरी गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा

काठमाडौं – पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म बिदा दिने निर्णय गरेको हो ।
तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।
ठोरी गाउँपालिका तामाङ समुदायको बाहुल्यता भएको क्षेत्र हो । देशभरका तामाङ समुदायले २८५९ औँ सोनाम ल्होछार मनाउँदै छन् । तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।
अघिल्ला वर्षहरूमा समेत पालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिँदै आएको थियो । पर्वको अवसरमा माघ ९ गते सोनाम ल्होछार मूल समारोह समितिले बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ ।

