
बाजुरामा हिमपात, कृषकलाई राहत
बाजुरा – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ। जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो।
पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ। बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ।
मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ। हिमपात भएपछि कृषक खुशीभएका छन्। वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ।
जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ। मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ।



कागजपत्र |
