

उपसभामुखमा औपचारिकताका लागि मात्र उम्मेदवार खोजी गर्दै सत्ताइतर दल
कांग्रेस पदाधिकारी बैठक केहीबेरमा बस्दै

काठमाडौं — नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने निश्चित भइसकेको छ ।
सत्ता साझेदारबीच उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति भइसकेको अवस्थामा कांग्रेसनिकटका दलहरुले उपसभामुखका लागि खडा गर्ने उम्मेदवारले पनि औपचारिकता मात्र पूरा गर्ने निश्चित छ ।
पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थति निवासमा बिहान १० बजे तय गरिएको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित हुन प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुनेछ । विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने टुंगिसकेको छैन ।
आज उपसभामुखको मनोनयन छ भने भोलिलाई मतदान तोकिएको छ । बिहीबार भएको सभामुख निर्वाचनमा भने कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे विजयी भइसकेका छन् ।

