पाइलटमाथि हातपात गर्ने जोकोहीलाई हदैसम्मको कारबाही गरियोस् : वायु सेवा सञ्चालक संघ


काठमाडौं – वायु सेवा सञ्चालक संघले प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोलमाथि भएको कुटपिटप्रति आपत्ति जनाएको छ। ज्यानको प्रवाह नै नगरी रातदिन दुर्गम क्षेत्रमा खटिरहेका पाइलटमाथि कुटपिट गरी घाइेत बनाएको भन्दै संघले ध्यानाकर्षण जनाएको हो।

राष्ट्रको गहनाका रूपमा रहेका क्याप्टेनमाथि कुटपिट गर्नेहरूलाई हदैसम्मको कारबाही गर्न संघले माग गरेको छ। ‘ज्यानको प्रवाह नै नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाहरूको सेवामा खटिरहेका र सुत्केरी, बिरामीलगायत अत्यन्तै संवेदनशील मानवीय तथा विकास निमार्णका कार्यमा संलग्न क्याप्टेनमाथि कुटपिट गर्नु निन्दनीय कार्य हो। यस प्रकारको संवेदनहीन कार्यको उचित छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौं,’ संघले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ।

संघले घाइते भएका क्याप्टेनको उचित उपचार प्रबन्ध मिलाउन र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरोकारवाला पक्षसँग माग गरेको छ। क्याप्टेन डंगोलले बिहीबार करिब २:२४ बजे पोखराबाट स्याङ्जाको वालिङमा चार्टर उडान गरेका थिए। यात्रुबाट प्राप्त जीपीएसअनुसार नै खेल मैदानमा उनले हेलकोप्टर अवतरण गरेका थिए। अवतरण गरेलगत्तै उनीमाथि हातपात भएको थियो।

प्रतिक्रिया