

आगलागीबाट घाइते भएका राउटे नारायणको मृत्यु

दैलेख – आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ। पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए।
उपचारका लागि काठमाडौं लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गएराति मृत्यु भएको हो। दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो। एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकारी दिए। चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी उनी जलेका थिए।
नारायणको यो मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ। एक सय ४३ जनसंख्या भएका राउटेहरू कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन।
उनीहरू हाल दैलेखको नारायण नगरपालिका–८ सालखर्कमा बसोबास गरिरहेका सो समुदायमा परियोजनामार्फत खटिएका अहेब लोकेन्द्र शाहीले बताए।

