विमान दुर्घटनाअघि छोरा जन्मियोस् भन्दै भाकल गर्दै पशुपति दर्शन !

पोखरा अवतरण गर्न केही सेकेन्ड बाँकी हुँदा विमानबाटै फेसबुक लाइभ


नेपालमा तीन दशकमा भएको सबैभन्दा ठूलो विमान दुर्घटनाको केही घण्टामै एउटा भिडिओ भारतमा भाइरल हुन पुग्यो।

अवतरण गर्ने प्रयास गरिरहेको यती एअरलाइन्सको विमान दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि भारतीय नागरिक सोनु जयसवालले विमानभित्रबाटै लाइभ भिडिओ प्रसारण गरेका थिए।

उनी साथीहरूसँग नेपाल घुम्न गएका थिए। उनीहरू सबै जना उत्तर प्रदेशको गाजीपुरका हुन्।

भिडिओमा पोखरा विमानस्थल वरिपरको दृश्य स्पष्ट देखिन्छ।

उक्त भिडिओ खिच्दा विमानमा भएका कसैलाई पनि आफू मृत्युको मुखमा परेको किञ्चित् शङ्का पनि परेको देखिँदैन।

आइतवार भएको दुर्घटनामा विमानमा सवार चालकदलका सदस्यसहित ७२ जनामध्ये ७१ जनाको शव फेला परिसकेको छ।

भिडिओमा के छ?

भिडिओमा विमान बिस्तारै अवतरण गर्ने क्रममा रहेको देखिन्छ। केही क्षण क्यामरा आफूतिर फर्काएर सोनु मुसुक्क हाँस्छन्। अनि फेरि विमानमा सवार अन्य यात्रुतर्फ फर्काएर खिचिएको दृश्य देखिन्छ।

त्यसको केही क्षणपछिको दृश्य अस्पष्ट छ तर कर्कश आवाज सुनिन्छ।

अनि स्क्रीन मुस्लो र धुवाँले भरिन्छ। भिडिओ बन्द हुनुअघि इन्जिनको जस्तो कर्कश आवाज, सिसा फुटेको जस्तो र मानिसहरू चिच्याए जस्तो सुनिन्छ।

परिवारद्वारा पुष्टि

जयसवालका परिवारजन र साथीभाइले फेसबुकमा उक्त भिडिओ आफूहरूले हेरेको सञ्चारकर्मीहरूलाई बताँउदै त्यो पछिल्लो विमान दुर्घटनाकै रहेको पुष्टि गरेका छन्।

“सेती नदीनजिकै खोँचमा विमान दुर्घटना हुँदा सोनु लाइभ आएका थिए,” उनका साथी मुकेश कश्यपले सञ्चारकर्मीहरूलाई भने।

सोनुको फेसबुक प्रोफाइल ‘प्राइभेट’ छ। स्थानीय पत्रकार शशीकान्त तिवारीले सोनुको भिडिओ कश्यपले आफूलाई देखाएको बीबीसीलाई बताएका छन्।

सामाजिक सञ्जालमा देखा परेका अन्य भिडिओहरूमा विमान बस्तीनजिकै पुगेपछि अचानक ढल्किएको देख्न सकिन्छ।

जयसवालले उडिरहेको विमानबाट कसरी भिडिओ लाइभस्ट्रीम गर्न सके भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

नेपाली अधिकारीहरूले अनुसन्धानमा सहयोग पुर्‍याउन सक्ने उक्त भिडिओ फुटेजबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

सोनु जयसवालसँग विमानमा उनका साथीहरू अभिषेक कुशवाहा, अनिल राजभर र विशाल शर्मा थिए।

उनीहरूका परिवार शोकाकुल छन् र पूरै स्तब्ध छन्।

अभिषेक कुशवाहाका आफन्त चन्द्रभान मौर्यले भने, “यो दुःख शब्दमा भन्ने सकिँदैन।”

“सरकारले सके जति हामीलाई सहयोग गर्नुपर्छ। हामी आफ्ना प्रियजनको शव हामीकहाँ फर्काइयोस् भन्ने चाहन्छौँ।”

पशुपतिनाथ दर्शन गर्न गएका थिए

गाजीपुरका स्थानीय अधिकारीहरूले आफूहरू दुर्घटनामा ज्यान गुमाएका चार जनाको परिवार र काठमाण्डूस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहेको र सक्दो सहयोग गर्न तयार रहेको जनाएका छन्।

“हामीले ती परिवारहरूलाई काठमाण्डू जान चाहे प्रबन्ध गरिदिने बताएका छौँ,” जिल्लाधिकारी आर्यका अखौरीले सञ्चारकर्मीहरूलाई बताइन्।

गाउँलेहरू ती चार युवालाई “दयालु र रमाइला” व्यक्तिका रूपमा स्मरण गरेका छन्। उनीहरू यो त्रासदीले आफूहरूलाई स्तब्ध बनाएको बताउँछन्।

केहीले त मृतकका परिवारका लागि क्षतिपूर्तिको माग गर्दै प्रदर्शन समेत गरेका थिए। शोकाकुल परिवारले पनि सरकारसँग क्षतिपूर्ति माग गरेका छन्।

बीसदेखि ३० वर्षका यी चार जनाबीच लामो समयदेखि मित्रवत् सम्बन्ध थियो।

काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न उनीहरू ज्यानुअरी १३, शुक्रवारको दिन नेपाल गएको स्थानीयवासीहरू बताउँछन्।

यात्राको योजना जयसवालले नै बनाएको बताइएको छ। तीन सन्तानका पिता उनले अर्को छोरा जन्मियोस् भनेर प्रार्थना गर्न पशुपतिनाथ गएका थिए।

काठमाण्डूबाट उनीहरू आइतवार पर्यटकीय गन्तव्य पोखरा जान उडेका थिए। त्यहाँबाट पुनः काठमाण्डू फर्किने उनीहरूको योजना थियो।

शोक र स्तब्धता

“तर भाग्यको खेला अर्कै थियो,” जयसवालका नाम उल्लेख नगरिएका एक आफन्तले समाचारसंस्था पीटीआईलाई भने।

आइतवार दुर्घटना भएको विमानमा पाँच भारतीय नागरिक थिए।

अधिकारीहरूका अनुसार विमानमा नेपाली र भारतीयबाहेक रुस, दक्षिण कोरिया, आयरल्यान्ड, अस्ट्रेलिया, आर्जेन्टिना र फ्रान्सका नागरिकहरू पनि थिए।

सोमवार भारतीय सामाजिक सञ्जाल दुर्घटनास्थल अनि जायसवालले खिचेको भिडिओले भरिएको थियो।

जयसवालका पिता राजेन्द्र प्रसाद जयसवालले आफूले त्यो भिडिओ हेर्न नसकेको बताए।

“मैले आफैँ त्यो भिडिओ हेर्न सकिनँ। मैले सोनुका साथीहरूले त्यसबारे भनेको कुरा मैले सुनेको हुँ। हाम्रो जीवन खत्तम भयो,” उनले भने।

शोकमा डुबेको गाउँलेहरू स्तब्ध भएका छन्। अनिल राजभरका पिता किंकर्तव्यविमूढ भएका छन्।

उनका छोरा परिवारलाई खबरै नगरी ज्यानुअरी १३ तारिखमा नेपाल गएका थिए।

उनी खेतबारीको काममा व्यस्त हुँदा अनिल झोला बोकेर सुटुक्क साथीहरूसँग हिँडेको छिमेकीहरू बताउँछन्।

अनिलका पिताले अझै आफ्नो छोरा विमान दुर्घटनामा परेको समाचार पत्याउन सकेका छैनन्।

(उत्तर प्रदेशबाट शशीकान्त तिवारीको थप रिपोर्टिङ)

 

प्रतिक्रिया