

राष्ट्रपति पद मेरा लागि होइनः डा. सन्दुक रुइत

काठमाडाैं – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताए।
उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरू धेरै रहेको बताए । उनले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि गर्नुपर्ने धेरै कामहरू रहेको पनि बताए ।
हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका थिए। इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए ।
डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इशा अवार्डलाई हेरेको बताए। उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताए।

