
सभामुख चयनका लागि बुधबार मनोनयन दर्ता, बिहिबार निर्वाचन
काठमाडौं – संघीय संसद सचिवालयले सभामुखको निर्वाचनर्को तयारी पूरा गरेको छ । बुधबार सभामुखका लागि मनोनयन दर्ताका लागि समय तोकिएको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार माघ १० गते भित्र सभामखु र उपसभामुख चयन गरिसक्नुपर्ने छ ।
प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।
बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुने प्रवक्ता गिरीले जानकारी दिए ।
सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
एक भन्दा बढी उम्मेदवार भए दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको कुल सदस्य संख्याको जसले बहुमत ल्याउँछ उनी नै सभामुख निर्वाचित हुनेछन् । सभामुख चयन भएपछि उपसभामुख चयन गर्ने तयारी छ ।



कागजपत्र |
