प्रभावित परिवारलाई आवश्यक सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले पोखरामा भएको विमान दुर्घटनापश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा तथा पीडित परिवारलाई गर्नुपर्ने सहजीकरण गर्ने निर्णय गरेको छ।

गृहमन्त्रालयमा आज साँझको बैठकमा गृहमन्त्री रवि लामिछानेले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै शवपरीक्षण, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका पीडित परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका काममा आवश्यक परामर्शलगायतका सहजीकरण गर्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।

सबै सरोकारवालाहरुले पीडित परिवार तथा मिडियामा सूचना तथा जानकारी सहज रूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

पहिले मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन/दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई सूचना प्रवाहमा सहजीकरण गर्न भनिएको छ। गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र शवपरीक्षण हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया