सन्दीप आज थुनामुक्त हुँदै

उच्च अदालत पाटनको आदेशपछि २० लाख धराैटी राखी थुनामुक्त हुँदै


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर आज (शुक्रबार) जेलमुक्त हुँदैछन् ।

बिहीबार भएको सुनुवाईबाट उच्च अदालत पाटनले २० लाख धरौटीमा लामिछानेलाई रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशसँगै उनका परिवारजनले आज धरौटीबापतको रकम बुझाएपछि सन्दीप छुट्ने जनाइएको छ ।

बिहीबार उनलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले विभिन्न शर्तसहित धरौटीमा छोड्न लागेको हो ।

इजलासले उनको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भएकाले त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो । साथै उनले थुनाबाहिर हुँदा अरू फौजदारी कसुर गर्न सक्ने अवस्था नभएको र पीडित वा पीडित परिवारको ज्यानमा वा स्वतन्त्रतामा आघात पु¥याउन सक्ने प्रबल सम्भावना नदेखिएको पनि आदेशमा उल्लेख छ ।

आदेशमा सन्दीपलाई विभिन्न शर्त पनि राखिएको छ । सन्दीपलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान रोक लगाइएको छ भने उपत्यका बाहिर जानका लागि प्रहरीमा लिखित जानकारी गराएर मात्र जान आदेश दिएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा जाहेरकर्ता वा उनको परिवारका बारेमा केही टिप्पणी गर्न पनि सन्दीपलाई रोक लगाइएको छ भने पीडित र पीडितका परिवारसँग भौतिक एवं कुनै प्रकारले सम्पर्क गर्न पनि रोक लगाइएको छ । साथै आदेशमा सन्दीपको मोबाइल निगरानीमा राख्न समेत आदेश दिएको छ ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा परेका थिए ।

 

प्रतिक्रिया