

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
नेकपा दाहाल नेपाल समुहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
दाहाल-नेपाल समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ । बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।
नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो । । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

