सुदूरपश्चिम प्रदेश सभामुख चयनका लागि मतदान हुँदै, भण्डारी र रावल चुनावी मैदानमा


धनगढी – सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि बिहीबार मतदान हुँदैछ। सभामुखका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए। सुदूरपश्चिम प्रदेशको सभामुख पदमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई उम्मेदवार बनाएको छ।  भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल छिन्।

सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रका सुदूरपश्चिममा ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका भण्डारी बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ।

नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ। रावलको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह छन्। सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत  आवश्यक पर्छ।

 

प्रतिक्रिया