अग्नी पिडितलाई बाम्राङ परिवार हङकङको सहयोग


खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका आगलागी पिडितलाई बाम्राङ परिवार हङकङले आर्थिक सहयोग गरेको छ । गत पुस ९ गते भएको आगलागीबाट लाखौंको धन सम्पत्ती गुमाएका स्थानीय मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठलाई बाम्राङ परिवार हङकङले दुई लाख ९० हजार ८१३ रुपैयाँ आर्थिक सहयोग पठाएको हो ।

२० जना दाताबाट संकलन गरेर पठाइएको रकम वडा कार्यालय बाम्राङको आयोजना तथा खोटाङ प्राकृतिक प्रकोप कोषको व्यवस्थापनमा आगलागी पिडितलाई हस्तान्तरण गरिएको छ ।

यस्तै, काठमाडौं सल्लेली तथा आफन्तबाट संकलन गरेर केशवकुमार श्रेष्ठमार्फत पठाइएको ५१ हजार पाँच रुपैयाँ र अन्य आफन्त तथा शुभेच्छुकबाट संकलन भएको ३२ हजार ६० रुपैयाँ सहयोग पनि आगलागी पिडितलाई हस्तान्तरण गरिएको खोटाङ प्राकृतिक प्रकोप कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए ।

आफन्त तथा शुभेच्छुकबाट संकलन भएको रकम बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, खोटाङ प्राकृतिक प्रकोप कोषका अध्यक्ष भोगेन एक्लेले पिडित परिवारलाई हस्तान्तरण गरेका छन् ।

मैयाँको घरमा विद्युत सर्ट भएर सुरु भएको आगोले मैयाँ सहित कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेको थियो । सो आगलागीमा तीन परिवारको ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको थियो ।

प्रतिक्रिया