

अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले एक लाख रुपैयाँ दिने

नवलपरासी – गैँडाकोट नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। ६० वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराउन लागेको नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए।
नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पुर्याउन निःस्वार्थ भावले काम गर्दै आएका नगरका स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउन लागेको अधिकारीले बताए। ‘नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कार्य गर्दै आएका कम्तीमा पाँच वर्ष सेवा गरी ६० वर्ष उमेर पुगेर सेवाबाट अवकाश भएका स्वास्थ्य स्वयंसेविकालाई रकम उपलब्ध गराउने निर्णय गरेको छ’, उनले भने, ‘उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाखसम्म रकम उपलब्ध गराउने निर्णय गरेका छौँ।’
कम्तीमा पाँच वर्ष सेवा गर्नेलाई उनीहरूले सेवा गरेको प्रत्येक वर्षको पाँच हजार रुपैयाँका दरले अधिकतम् एक लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने निर्णय भएको अधिकारीले जानकारी दिए। ‘स्वेच्छाले राजीनामा दिएमा, स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनको कारणबाट जिम्मेवारीबाट हटाइए वा उमेरबाहेक अन्य कुनै कारणले सेवामा रहन नमिल्ने भएमा यस्तो सुविधा उपलब्ध गराउन नगरपालिका बाध्य हुने छैन’, नगरप्रमुख अधिकारीले भने। त्यस्तै सेवामा बहाल रहँदाको अवस्थामा कुनै कारण मृत्यु भएमा स्वयंसेविकाको परिवारलाई पनि एक लाख उपलब्ध गराउने नगर कार्यपालिकाले निर्णय गरेको उनले बताए।
गैँडाकोट नगरपालिकामा हाल ४१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। चालु आर्थिक वर्ष २०७९र८० मात्रै चार महिला स्वास्थ्य स्वयंसेविकाले उमेरहदका कारण अवकाश पाएका छन्। त्यस्तै एक जनाको मृत्यु भएको छ भने एक जना वडासदस्य निर्वाचित भएकी छिन् ।

