सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको बैठक सुरु हुँदै


कैलाली – सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको बैठक केही बेरमा सुरु हुने भएको छ ।

अहिले बिहान ८ बजे संसदीय दलको कार्यालयका बैठक बस्न लागेको प्रदेशसभा सदस्य मेघराज खड्काले जानकारी दिए । आज सभामुख मनोनयन तथा मुख्यमन्त्री दाबी पेश गर्ने अन्तिम दिन हो ।

सभामुख निर्वाचनको अघिल्लो दिन तथा मुख्यमन्त्री दाबी पेश गर्ने दिन बस्दै गरेको कांग्रेस संसदीय दलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अहिलेसम्म नागरिक उन्मुक्ति पार्टीले कुन गठबन्धनलाई साथ दिने भन्ने बारे आधिकारिक निर्णय गरिसकेको छैन । कांग्रेस आफ्नो गठबन्धनमा आए मुख्यमन्त्री दिन तयार भएको जनाइसकेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, नागरिक उन्मुक्ति एमाले गठबन्धनमा लाग्दा कांग्रेस गठबन्धन अल्पमतमा पर्ने छ । त्यस्तो अवस्थामा सभामुख पदमा उम्मेदवारी दर्ता गर्ने या नगर्ने भन्ने बिषयमा पनि आज निर्णय हुने जनाइएको छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९ सांसद छन् ।

प्रतिक्रिया