

मलेसियामा बन्धक नेपालीको उद्दारका लागि पहल सुरू

काठमाडौं — मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल शुरु गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि पहल लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका थिए ।
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ । सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन् ।
कम्पनीको दबाबका विरुद्ध आवाज उठाउँदा आफूहरुमाथि कुटपिटसमेत भएको उनीहरुको गुनासो छ । कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरुलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकको भनाइ छ । बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

